Trending
बर्डफ्लु पुष्टि भएपछि सदर चिडियाखाना अनिश्चितकालका लागि बन्द     |     बैतडीमा बस दुर्घटनामा एक जनाको मृत्यु, १० जना घाइते     |     मेक्सिको बन्यो नकआउट चरण पुग्ने पहिलो टिम     |     नेयमारको प्रतीक्षा लम्बियो, हाईटीविरुद्ध नखेल्ने     |     कोशीका मन्त्रीको क्वार्टरमा प्रहरीको छापा     |     कक्षा १२ को नतिजा सार्वजनिक : नियमिततर्फ ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण     |     राप्रपाको महाधिवेशन मंसिर २६ देखि २८ सम्म गर्ने प्रस्ताव     |     सीप विकासमार्फत आत्मनिर्भर बनाउने अभियानमा माँ भाटभटेनी संस्था     |     विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम परिमार्जनको तयारी गर्दै मन्त्रालय     |     उज्वेकिस्तानमाथि कोलम्बियाको जित     |    
समाचार

जसलाई दसैँले छोएन

२५ आश्विन २०८१, शुक्रबार ०२:००

२५ असोज,काठमाडौँ।न्युरोडको बन्द पसलको अगाडि घमाइलो दिनमा पनि ज्याकेटले छापेको शरीर, शीरमा बाक्लो टोपी अनि काँधमा झुन्डिएको नाम्लो ।

चुरोटको सर्को लिँदै धनबहादुर खत्रीले भने, “बिहानदेखि दसैँको खर्च जोहो गरौँ भनेको दिउँसो भइसक्यो अहिलेसम्म गोजी रित्तो छ ।”अलिक परको टुँडिखेलमा दसैँको फूलपातीको उत्सव मनाइरहँदा खत्री भने न्यूरोडमा भारी बोक्ने काम खोज्दै थिए । दसैँ लागेका मानिसहरू गोजीभरि पैसा बोकेर न्युरोडका पसल चहार्दा उनी भने गोजी तातो बनाउने खोजीमा थिए । हामीले उनलाई सोध्यौँ, “दसैँ लाग्या छैन दाजु ?”

“खोइ सर, लाग्न त लाग्यो तर मलाई त्यति स्वाद छैन, बिहान आइपुगेको दिन ढल्न  लाग्दा पनि काम पाइएको छैन, गोजी रित्तो हुँदा दसैँ आयो कसरी भन्नु ?” उनी बिहीबार बिहानै घरबाट निस्किएका थिए, तर दिनभरि नयाँसडक, असन, भोटेबाहलका गल्ली र पसल चाहर्दा पनि काम पाइएको छैन । उनले आज रित्तो हात फर्कनुपर्छ कि भन्दै सुस्ताए । “हिजो अस्ति त काम जति पनि पाइएको थियो, आज पाइएन, रमाइलो भएन”, उनले सुनाए ।

धनबहादुरको मन दिनभरि राम्रो आम्दानी नभएपछि खिन्न छ । “बिहान परिवारसँग मरमसला, कपडालगायतका सामग्री लिएर आउँछु है भन्दै बजार छिरेको थिएँ, तर आज रित्तो हात फर्कनुको विकल्प भएन”, उनले भने ।

हरेक दिन भारी बोकेर मजदुरी गर्दै आएका खत्रीले यही कमाइले घरखर्च र परिवारको रेखदेख गर्नुपर्ने दायित्व छ । खत्रीको घरपरिवार पनि दिउँसोको कमाइले दसैँका सामान किन्ने योजनामा बसेको छ ।

विगत २७ वर्षदेखि भारी बोक्ने काम गर्दै आएको खत्रीले केही समय रिक्सा पनि चलाए । त्यो पेसाबाट भने जस्तै आम्दानी नभएपछि भारी बोक्न फेरि नाम्लो समाएका रहेछन् । उमेरले ६५ वर्ष कटिसकेका खत्रीले अहिले पनि ५० देखि ६० किलोसम्मको भारी बोक्दै हिँड्छन् ।

उनी मात्रै होइन, न्युरोडमा ज्यामी काम गर्ने ओखलढुङ्गाका ढाकाराज सुनुवारलाई पनि दसैँ लागिसकेको छैन । बन्दै गरेको घरमा मार्बल घोट्दै गरेका उनले पनि खत्रीको जस्तै व्यथा सुनाए ।

फूलपातीको दिन न्युरोड क्षेत्रमा नयाँ कपडा किन्ने ग्राहक र व्यापारीको होहल्ला चलिरहँदा सुनुवारलाई त्यसको कुनै आभास छैन । “खोइ, दसैँ आयो भन्छन् हुने खानेलाई आयो होला । हामीजस्तालाई त आएको छैन । यसरी काम गर्नुपरेको छ, कसरी दसैँ मान्नु, तै पनि परम्परा धान्न भए पनि दसैँ त मान्नै परो”, उनले भने ।

प्रतिक्रिया दिनुहोस्