Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
समाचार

चालीस रोपनी जग्गामा सयपत्री फूल खेती

६ कार्तिक २०८१, मंगलवार ०३:३०

६ कार्तिक,तनहुँ।तनहुँका किसान सयपत्री फूलखेतीमा आकर्षित भएका छन् । तिहार, हरिबोधनी एकादशी तथा स्थानीयस्तरमा हुने कार्यक्रममा सयपत्रीको माग बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भएका हुन् ।

सयपत्री फूलखेतीलाई स्थानीय तहले पनि सहयोग गर्न थालेको छ । म्याग्देका तीन जनाले युवाले यसै वर्षदेखि पहिलो पटक सयपत्री फूलखेती सुरु गरेका छन् । म्याग्दे गाउँपालिका–६ धैरेनीमा साढे दुई रोपनी जग्गामा स्थानीय युवा अक्षय श्रेष्ठ, सन्तोष श्रेष्ठ र सुजन श्रेष्ठले सयपत्री फूलखेती गरेका हुन् ।

म्याग्दे गाउँपालिकाको पुष्पखेती कार्यक्रममार्फत पहिलो पटक सयपत्री फूलखेती सुरु गरिएको अक्षयले बताए । सयपत्री फूलखेतीका लागि गाउँपालिकाले बीउ खरिदमा ७५ प्रतिशत अनुदान दिएको छ ।

उनले भने, ‘तिहारका बेला फूल बाहिरबाट ल्याउन नपरोस् भनेर हामी तीन जना युवा मिलेर पहिलो पटक सयपत्री फूलखेती गरेका हौँ ।’ यहाँ लगाइएको फूल उत्पादन हुन सुरु गरिसकेको छ । उनका अनुसार दुई हजार पाँच सय फूल लगाइएको थियो । उनले भने, ‘तिहारका बेला स्थानीयस्तरमै फूलको माग हुन्छ । पोखरामा पनि सम्पर्क भइरहेको छ ।’

शुक्लागण्डकी नगरपालिका–८ बडहरे निवासी मञ्जु श्रेष्ठले पनि विगत दुई वर्षदेखि फूलखेती गर्दै आएकी छन् । गत वर्ष कलकत्ते प्रजातिका फूल लगाएकी उनले यस वर्ष टिटी जातको फूलखेती गरिएको जानकारी दिइन् । उनले गत वर्षको तिहार र एकादशीमा रु एक लाख बराबरको सयपत्री बिक्री गरेकी थिइन् । दुई वर्षदेखि फूलखेतीमा आबद्ध उनले मागअनुसारको फूल पुर्‍याउन धौधौ भएपछि व्यावसायिक रूपमा फूलखेती सुरु गरेकी थिइन् ।

उनले भनिन्, ‘पहिलो पटक उत्पादन भएको फूल नजिकका आफन्तजन, साथीभाइलाई पनि पुर्‍याउन सकिन, तिहारका बेला फूलको धेरै माग हुन्छ’, व्यवसायी मञ्जुले दुई रोपनी क्षेत्रफलमा फूलखेती गरेकी छन् । विगतमा तरकारी बेर्ना जमाएर बिक्री गर्ने उनले सयपत्री फूल विदेशबाट आउने गरेको थाहा पाएपछि स्वदेशमै उत्पादन गर्नुपर्छ भन्ने भावना विकास भएको बताइन् ।

श्रेष्ठले भनिन्, ‘हरेक सामान विदेशबाट आउँछ, हुँदाहुँदै फूल पनि विदेशबाट आउने गरेको देखेपछि आफैँलाई धिक्कार लाग्यो, हामी पनि फूलखेती गर्न सक्छौँ भन्ने सोच र आत्मविश्वास वृद्धि भयो ।नेपाललाई फूलमा आत्मनिर्भर गराउन मेरो पनि केही योगदान होस् भन्नका लागि फूलखेती गरेको हुँ ।’

गाउँघरमा जग्गा बाँझै रहेकाले त्यस्ता जग्गालाई सदुपयोग गर्दै फूलखेती गर्नेतर्फ प्रोत्साहन गर्न सरकारले सघाउनुपर्ने उनको भनाइ छ । फूलखेती गरेको बारेमा आफूले व्यक्तिगत सामाजिक सञ्जालबाट प्रचारप्रसार गर्दै आएको उनले सुनाइन् । यस्तै आँबुखैरेनी गाउँपालिका–१ स्थित याञ्चोकमा लघुउद्यम महिला सङ्घले ४० रोपनी जग्गामा सयपत्री फूलखेती गरेको छ । अघिल्लो वर्ष २२ रोपनी क्षेत्रफलमा फूलखेती गरिएकामा स्थानीयस्तरमै फूलको माग बढी भएपछि यसपटक क्षेत्रफल विस्तार गरिएको सङ्घका अध्यक्ष सुन्तली गुरुङले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्