Trending
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आधुनिक हवाई मार्गनिर्देशन प्रणाली लागू गर्ने प्रक्रिया अघि बढ्यो     |     आमा र नवजात शिशुको अधिकार सुनिश्चित गर्न नयाँ निर्देशिका जारी     |     विदेशी मुद्राको सञ्चिति ४० खर्ब नाघ्यो     |     भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो     |     राजमार्गका होटल तथा रेस्टुरेन्टलाई मूल्यसूची राख्न र ग्राहकलाई बिल दिन विभागको निर्देशन     |     किष्ट क्यान्सर सेन्टर: प्यालिएटिभ केयर सेवाको एक वर्ष पुरा, क्यान्सरका बिरामीलाई निःशुल्क सेवा     |     बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह     |     बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार     |     दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट     |     विश्वकप लिग-२ः क्यानडाविरुद्ध नेपालको जित     |    
Uncategorized

भीम रावलको अबको बाटो : मातृभूमि जागरण अभियान सञ्चालन गर्ने

१७ पुष २०८१, बुधबार १३:३५

१७ पुस,काठमाडौं। एमालेबाट निष्कासित नेता भीम रावलले अब मातृभूमि जागरण अभियान सञ्चालन गर्ने भएका छन् ।

बुधबार काठमाडौँमा पत्रकार सम्मेलन गरेका रावलले मातृभूमि जागरण अभियान सञ्चालन गरेर देश र जनताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकताबद्ध गर्ने बताएका हुन्।

‘देश र जनताले भोगिरहेका समस्याहरूको समाधान र चुनौतीहरूको सामना गर्दै स्वाधीन, स्वतन्त्र र स्वाभिमानी नेपाललाई पुनर्जागरणको दिशामा अगाडि बढाउनुपर्छ,’ उनले भने, ‘स्वदेश र प्रवासमा रहेका नेपालीहरूका आवाज, आकांक्षा र आवश्यकतालाई गहिरो गरी मनन र विश्लेषण गर्दै राज्य र राजनीतिलाई त्यसको सेवामा समर्पित गर्नुपर्छ।’

देशको जनशक्ति र प्राकृतिक स्रोत सर्वप्रथम देशको सर्वोपरि हितमा परिचालित र उपयोग हुनुपर्ने कुरालाई नीति र निर्णयमा स्थापित गर्नुपर्ने उनको भनाइ छ। ‘नीति, राजनीतिक दल, सिद्धान्त सबै देशको सर्वोपरि हित पूरा गर्न माध्यम र साधन मात्र हुन्, देश सबैभन्दा माथि हुन्छ धारणालाई बलियो गरी अबलम्वन गर्नुपर्छ,’ उनले थपे, ‘राजनीति दल र राज्यका सबै अवयव र संयन्त्रहरू राष्ट्रिय हित, जनताको समृद्धि र कल्याणमा केन्द्रित र सञ्चालित हुनुपर्छ।’

रावलले वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य भएको पनि बताएका छन्। ‘विधि, पद्धति, प्रणाली र सुशासनको बाटोमा निस्वार्थरूपमा दृढताका साथ हिँड्नुपर्छ यस्ता मान्यताहरूको आधारमा देश र जनतासंग सम्बन्धित समग्र विचार, कार्यक्रम, नीति तय गर्दै देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ। यसैतर्फ हाम्रो पाइला र प्रयासहरू अगाडि बढ्ने छन्’ उनले भने।

प्रतिक्रिया दिनुहोस्