Trending
सिटीले लिभरपुललाई हरायो     |     देशभर मौसम सफा रहने     |     यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर     |     अभिनय यात्राको सत्र वर्षपछि मुख्य भूमिकामा चौरासिया     |     ‘विश्व भोकमरी सूचाङ्क–२०२५’ को प्रतिवेदन सार्वजनिक     |     रुकुम पश्चिममा करेन्ट लागेर एक युवकको मृत्यु     |     नेपाल श्रीलङ्कासँग पराजित     |     भारतविरूद्ध नेपालको ९२ रनको शानदार जित     |     डिशहोमले द ट्राङक्विलिटी स्पासँग हातेमालो गर्दै भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा प्रदान गर्ने     |     झापा महिला गोल्डकपः सङ्कटालाई हराउँदै पुलिस क्लब फाइनलमा     |    
कला र मनोरन्जन

धरानमा ‘अञ्जिला’को भव्य प्रिमियर: निर्देशक भन्छन्, ‘दर्शक प्रतिक्रियाले चलचित्र चल्ने सङ्केत पाएँ’

२४ फाल्गुन २०८१, शनिबार ०९:३३

धरान। धरानमा ‘अञ्जिला’को भव्य प्रिमियर: निर्देशक भन्छन्, ‘दर्शक प्रतिक्रियाले चलचित्र चल्ने सङ्केत पाएँ’

धरान – फागुन २९ गते देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘अञ्जिला’को धरानमा भव्य रेड कार्पेट प्रिमियर सम्पन्न भएको छ । शुक्रवार धरानको फ्रेन्ड्स सिनेमाजमा आयोजित प्रिमियरमा चलचित्र टिम, चलचित्रकर्मी, खेलाडी, पत्रकारहरू, र स्थानीय दर्शकहरूको उत्साहजनक उपस्थिति रहेको थियो ।

नेपाली महिला राष्ट्रिय फुटबल टिमकी कप्तान तथा गोलरक्षक एन्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित यो चलचित्रको हङकङ, कोरिया र बेलायतमा सफलतापूर्वक प्रिमियर भइसकेपछि नेपालमा पहिलो पटक धरानमा गरिएको यो प्रिमियरले चलचित्रप्रति दर्शकहरूको उत्सुकतालाई थप बढाएको छ । भव्य सजावट र रेड कार्पेटले सजिएको हलमा दर्शकहरूले चलचित्रको प्रतीक्षा गरिरहेका थिए ।

प्रिमियरमा निर्माता तथा कलाकार प्रेम कुमार श्रेष्ठ, सह-निर्माता विनोद अग्रवाल, राजेश बगडिया र निर्देशक मिलन चाम्सको उपस्थिति थियो । यद्यपि, चलचित्रकी मुख्य अभिनेत्री एन्जिला तुम्बापो सुब्बा र अन्य प्रमुख कलाकारहरू भने कार्यव्यस्तताका कारण उपस्थित रहेनन् । तर, कलाकार प्रकाश सुब्बा र बाल कलाकार नमिक्षा मगरको उपस्थिति भने उल्लेखनीय थियो । यस चलचित्रमा एन्जिलाको साथमा, प्रेम कुमार श्रेष्ठ, दयाहाङ राई, सुनिल थापा, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, र बुद्धि तामाङको प्रमुख अभिनय छ ।

चलचित्र हेरेपछि दर्शकहरू भावुक बनेका थिए । चलचित्र हेरिरहेका दर्शकहरू हलभित्र रोइरहेका देखिन्थे । विशेष गरी एन्जिलाको सङ्घर्षको कथाले सबैको मन छोएको प्रतिक्रिया प्राप्त भएको छ ।दर्शकले चलचित्रको प्रशंसा गर्दै निर्देशक मिलन चाम्सको उत्कृष्ट निर्देशनको सराहना गरे ।

धरान फुटबल क्लबका अध्यक्ष प्रताप तामाङले चलचित्रले नेपाली खेलाडीहरूको वास्तविक सङ्घर्षलाई चित्रण गरेको बताए । युवा दर्शकहरूले चलचित्र हेर्दा आफ्नो परिवार र आफूलाई नै देखेको प्रतिक्रिया दिए । चलचित्रकी बाल कलाकार नमिक्षा मगरले एन्जिलाको सङ्घर्ष देखेर आफू पनि रोएको बताइन् ।

दर्शकहरूको सकारात्मक प्रतिक्रियाले निर्माण टिमलाई उत्साहित देखियो । निर्माता श्रेष्ठले दर्शकहरूको माया र समर्थनले आफू भावुक भएको बताए भने निर्देशक चाम्सले दर्शकहरू रुँदा आफू पनि भावुक भएको अनुभव सुनाए । चाम्सको यो तेस्रो बायोपिक चलचित्र हो । उनले यसअघि बायोपिकहरू ‘ब्लाइन्ड रक्स’ र ‘बोबी’ निर्देशन गरेका थिए ।

चलचित्रको छायाङ्कन एन्जिलाको जन्मथलो इलामको आइतबारे, झापा, र काठमाडौँमा गरिएको छ । चलचित्रको छायाङ्कन सुदीप बरालले गरेका छन् भने सम्पादन मिलन श्रेष्ठले गरेका छन् । मुन लभ इन्टरटेन्मेन्टको ब्यानरमा निर्मित यस चलचित्रका निर्माता प्रेम कुमार श्रेष्ठ हुन् । कार्यकारी निर्माता विनोद अग्रवाल हुन्‌ भने टुबेन्द्र लिम्बु, र राजेश बगडिया सह-निर्माता हुन् ।

प्रतिक्रिया दिनुहोस्