Trending
सलमानको जन्मदिनमा ‘ब्याटल अफ गलवान’ को टिजर सार्वजनिक     |     सभामुख घिमिरेद्वारा किन्डर ओलम्पिकको उद्घाटन     |     प्रधानमन्त्री कार्की र प्रमुख दलका शीर्ष नेताबिच छलफल सुरु     |     ‘पहाड भो मलाई’ बोलको गीत सार्वजनिक     |     सुर्खेत विमानस्थल परिसरमा विपद् उद्धार पोखरी निर्माण सुरु     |     राखेप बोर्डमा पाँच सदस्य नियुक्त     |     जेलमा रहेका फ्रान्सेली अनुसन्धानकर्ता भिनाटियरबारे रूसी प्रस्ताव, रिहाइको सम्भावना बढ्यो     |     नेपालगन्जका मंगले तामाङ वल्र्ड म्याराथनको बरियतामा     |     नवौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल यसै महिना     |     टिजर सार्वजनिक गर्दै ‘द ब्ल्यू लाइट’ले लियो नयाँ रिलिज डेट     |    
कला र मनोरन्जन

‘ऊनको स्वीटर’को पहिलो साताको कलेक्सन ५ करोड ७५ लाख, उल्लेख्य शो सहित आजबाट दोस्रो हप्तामा

३ जेष्ठ २०८२, शुक्रबार ०९:५९

काठमाडौं। हाल प्रदर्शन भइरहेको चर्चित नेपाली चलचित्र ‘ऊनको स्वीटर’ ले रिलिजको पहिलो सातामै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै धमाकेदार व्यापारिक सफलता आर्जन गरेको छ ।

निर्माण कम्पनी आर्टमाण्डू नेपाल प्रा.ली.ले शुक्रवार बिहान आधिकारिक रूपमा कलेक्सन रिपोर्ट सार्वजनिक गरेको हो ।

नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यस चलचित्रले रिलिजको पहिलो दिनदेखि नै दर्शकको मन जित्दै हलहरूमा हाउसफुल शोहरू दिन थालेको थियो । सात दिनको अवधिमा देशभरका सिनेमा घरहरूमा दैनिक ३०० भन्दा बढी शोहरू सहित प्रदर्शनमा रहेको यो चलचित्र आजबाट दोस्रो हप्ता प्रवेश गरेको छ ।

दोस्रो हप्तामा अन्य नयाँ चलचित्रहरूको रिलिजको बाबजुद पनि करिब २ सय शो सहित ‘ऊनको स्वीटर’ले प्रदर्शन आरम्भ गरेको छ । दोस्रो हप्ताको पहिलो दिन पनि दर्शकको चासो उत्तिकै कायम रहेको देखिएको छ । दर्शकहरूको स्वतन्त्र समीक्षाबाट चलचित्रले थप चर्चा कमाइरहेको छ । कलाकारहरू विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको दमदार अभिनय, जीवन्त संवाद र प्रभावशाली निर्देशनले चलचित्रलाई ‘हिट’ बनाएको दर्शकको प्रतिक्रिया छ ।

यस चलचित्रको पछिल्लो रिलिज गीत ‘चाइनेजो जिन्दगानीमा’ गीतले युट्युब र टिकटकमा सनसनी मच्चाएको छ । त्यसअघि सार्वजनिक भएका ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ जस्ता गीतहरूले पनि करोडौँ श्रोताको मन जितिसकेका छन् । यसको ट्रेलर पनि युट्युब ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।

यसैबीच, हलमा दर्शकको उत्साहजनक उपस्थिति कायम रहँदा दोस्रो साताबाट देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण थालिने भएको छ । निर्देशक नवीन चौहानका अनुसार भ्रमण दमौलीबाट सुरु भई पोखरा, चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ । भ्रमणमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस, गायक सुजन चापागाईँ सहभागी हुनेछन् ।

‘ऊनको स्वीटर’को यो उल्लेखनीय सफलता नेपाली चलचित्र उद्योगका लागि उत्साहजनक सन्देशका रूपमा हेरिएको छ, जसले गुणस्तरीय सामग्री, प्रस्तुति र सशक्त प्रचारमार्फत दर्शकलाई हलसम्म ल्याउन सकिने स्पष्ट प्रमाण प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्