Trending
राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान     |     आदिवासी कथा र संस्कृतिको अन्तर्राष्ट्रिय उत्सव : दोस्रो एनआईएफएफमा सिक्किमका मन्त्रीदेखि नेपाली कलाकारसम्म     |     विपत्तिमा डिडी सेक्युरिटीजको विशेष सहयोग     |     एमालेलाई नयाँ ऊर्जा र स्पष्ट मार्गसहित फेरी एक नम्बर पार्टी बनाएरै छाड्छु – केपी शर्मा…     |     बाढी प्रभावित नागरिकको अस्थायी आवास व्यवस्थापन प्रक्रिया अघि बढ्यो     |     राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षामन्त्रीको निर्देशन     |     दुई दशकको संगठन अनुभवसँगै पदाधिकारीको लाइनमा बिनिता     |     मिसेस नेपाल वर्ल्ड २०२६ को स्यासिङ समारोह सम्पन्न, २२ प्रतिस्पर्धी फाइनलमा     |     बङ्गलादेशका अलीले कर्णालीबाट एनपिएल खेल्ने     |     क्यान महासंघमा विवाद चर्किँदै, ‘निर्वाचनमार्फत निकास खोज्नुपर्छ’ महासचिवको जोड     |    
समाचार

बाँकेका महिलाले दसैँमा बेच्न ठिक्क पारे २ सय ५० खसीबोका

९ आश्विन २०८१, बुधबार ०९:४३

९ असोज,बाँके। बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरका किसान महिलाले यस वर्षको दसैँलाई लक्षित गरेर २५० खसीबोका बिक्रीका लागि तयार गरेका छन् ।

गाउँमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत महिला खसीबोका बिक्री गरेर यो वर्षको दसैँतिहार मनाउने योजनामा रहेका छन्। यहाँका किसान महिलाले प्रत्येक वर्ष दसैँतिहारमा ठूलो मात्रामा खसीबोका बिक्री गर्ने गरेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थाकी व्यवस्थापक दिव्या गुरुङले बताइन्।

‘महिला दिदीबहिनीले हुर्काएका खसीबोका बिक्रीका लागि सहकारीमा तौल गराउनुहुन्छ, हामीले बिक्री वितरण गर्ने गरेका छौँ’, व्यवस्थापक गुरुङले भनिन्, ‘यो वर्षको दसैँतिहारमा २५० खसीबोका बिक्री गर्ने लक्ष्य रहेको छ।’

विगतमा बाँकेको कचनापुर, महादेवपुरी, फत्तेपुरलगायतका गाउँमा महिलाले उत्पादन गरेका खसीबोका सामाजिक उद्यमी जिल्ला सहकारी सङ्घ बाँकेमार्फत काठमाडौँलगायत बाहिरी जिल्लामा बिक्री वितरण हुँदै आए पनि अहिले फत्तेपुरस्थित नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थामार्फत किसान महिलाका खसीबोका बिक्री हुँदै आएका छन्।

व्यावसायिक रुपमा बाख्रापालन गरिरहेका महिलाले तौल गरेर खसी बिक्री गर्दै आएका छन्। महिलाले व्यावसायिक रुपमा बाख्रापालन गर्न थालेपछि बाँकेमा खसीबोका उत्पादनमा वृद्धि भएको व्यवस्थापक गुरुङको भनाइ छ। महिलाले वर्षमा अहिले १० देखि १२ सम्म खसी बिक्री गर्न थालेको उनले जानकारी दिइन्।

पहिले फाटफुट खसीबोका बिक्री गर्ने महिला अहिले थोकमा बिक्री गर्न थालेका छन्। गाउँमा महिला समूहमा आबद्ध महिलाले घरमा उत्पादन गरेका खसीको बजार व्यवस्थापनको काम महिला उद्यमी सहकारीले गर्न थालेपछि बजार र ठगिने झन्झटबाट दिदीबहिनी मुक्त भएको गुरुङले बताइन्।

प्रबन्धक गुरुङका अनुसार गत आर्थिक वर्ष २०८०÷८१ मा उक्त सहकारीमार्फत किसान महिलाका ३१ हजार सात सय १० किलोग्राम तौल बराबरका एक हजार १७ खसीबोका बिक्री भएका थिए। अन्य समयमा भन्दा दसैँतिहारको समयमा खसीबोकाको माग बढी हुने र यही समयमा नै बढी बिक्री हुने गरेको गुरुङले बताइन्।

हाल सहकारी आबद्ध किसानसँग रु पाँच सय २५ प्रतिकिलोका दरले खसीबोका खरिद गर्ने र रु १० देखि १५ प्रतिकिलो बढाएर व्यापारीलाई बिक्री गर्ने गरेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्