Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

१० जेष्ठ २०८२, शुक्रबार १०:४२

काठमाडौँ। अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन् । उनले अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए ।

“मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भने ।

अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे । विशेषतः उनले अभिनय गरेको दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त भए ।

“कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले ‘मेकिङ’ मा त्यो गुणस्तरीयता पाइन् । त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ । यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु”, अभिनेता हमालले भने ।

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए । “अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु ।

हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भने ।

उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन्।

चलचित्र ‘नरसिंहाः अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएका छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्