Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

अभिनेता हमाल अभिनीत चलचित्र ‘नरसिंहा अवतार’ प्रदर्शनमा

१० जेष्ठ २०८२, शुक्रबार १०:४२

काठमाडौँ। अभिनेता राजेश हमाल आठ वर्षको अन्तरालपछि चलचित्रमा देखिएका छन् । उनले अभिनय गरेको चलचित्र ‘नरसिंहा अवतार’ आजदेखि नेपालभर प्रदर्शनमा आएको छ । आफूले सुहाउँदो र अनुकूल भूमिका पाएकै कारण चलचित्र अभिनयमा पुनः फर्किएको अभिनेता हमालले बताए ।

“मलाई चलचित्रमा काम गर्ने प्रस्ताव धेरै आइरहेका थिएँ । तर, मैले आफ्नो पात्रलाई सुहाउँदो भूमिका पाइनँ र अन्य काममै व्यस्त भएँ । यस चलचित्रमा प्रस्ताव गर्दा पनि म अभिनय गर्ने मनस्थितिमा थिइनँ, तर निर्देशकले पटकथा सुनाउनुभएपछि मैले खोजेको जस्तो भूमिका पाएँ । चलचित्रको विषयवस्तु, म सुहाउँदो भूमिका र विश्वास गर्न सकिने निर्देशक, निर्माताको समूहले गर्दा म चलचित्रमार्फत ठूलो पर्दामा पुनः आएँ”, अभिनेता हमालले भने ।

अभिनेता हमालले विगतका वर्षमा चलचित्रमा अभिनय गर्ने प्रस्ताव आए तापनि चित्त बुझ्दो र सुहाउँदो भूमिका नपाएकाले ठूलो पर्दामा नदेखिएको स्पष्ट गरे । विशेषतः उनले अभिनय गरेको दुई चलचित्र ‘वाग्मती’ र ‘सकुन्तला’ असफल भएपछि चलचित्रभन्दा विज्ञापन, मेला महोत्सव र टेलिभिजनजस्ता कार्यक्रममा व्यस्त भए ।

“कथावस्तु मन परेर अभिनय गरेका चलचित्र प्रदर्शनमा आउँदा मैले ‘मेकिङ’ मा त्यो गुणस्तरीयता पाइन् । त्यसकारण केही समय विश्राम लिएँ र त्यो समयमा म अन्य गतिविधिमा व्यस्त भएँ । यसपटक सबैले मेहनत गरेका छौँ, दर्शक प्रतिक्रिया बुझ्न म पनि प्रतीक्षारत छु”, अभिनेता हमालले भने ।

निर्देशक दिवाकर भट्टराईले स्थापित अभिनेता हमाललाई पुनः चलचित्रको पर्दामा ल्याउनु आफ्ना लागि अवसर र चुनौती रहेको बताए । “अभिनेता हमालको प्रशंसक (फ्यान) का बारेमा मैले बोल्नै पर्दैन । उहाँलाई हेर्न चलचित्र भवनसम्म आउनुहुने दर्शकले निराश हुनुपर्दैन, आफूले गरेको कामप्रति विश्वस्त छु ।

हाम्रो चलचित्रको मुख्य आकर्षण कथा नै हो, त्यहाँ परिवेशअनुसार सबै ‘पात्र’लाई सुहाउँदो भूमिकामा प्रस्तुत गरेको छु”, निर्देशक भट्टराईले भने ।

उक्त चलचित्रमा अभिनेता हमालसँगै राज कटुवाल, नीति शाह, सनिषा भट्टराई, सरोज खनाल, दीपा शाही, उषा खड्गी र बाल–कलाकारहरु एभेलिना खड्का र समाइरा थापाले अभिनय गरेका छन्।

चलचित्र ‘नरसिंहाः अवतार’ नेपालभर १३३ शो प्राप्त गरेको निर्माण पक्षले जनाएका छन् । नेम महर्जन, दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेले चलचित्रलाई संयुक्त रुपमा निर्माण गरेका हुन् । रासस

प्रतिक्रिया दिनुहोस्