Trending
नेपाली ‘यु–१९’ क्रिकेट टोलीले दुई अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने     |     पीएचपी सफ्टवेयरको सुरक्षा कमजोरी: नेपालका अधिकांश बैंकका अनलाइन सेवा प्रभावित     |     नेकपाले भोलिदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने     |     प्रधानमन्त्री बालेनलाई असफल बनाउन रास्वपाको षड्यन्त्र: प्रभु साह     |     सुदूरपश्चिम प्रदेशसभा सचिव बोगटीको राजीनामा स्वीकृत     |     वीर अस्पतालमा पार्किन्सन, छारे र मेरुदण्ड रोगको विशेष क्लिनिक     |     नेपाल अपराधीको आश्रयस्थल बन्न नदिन महेश बस्नेतको चेतावनी     |     एनटी फाइबरको प्याकेजमा ग्राहकको आकर्षण, अनलाइनबाटै सेवा लिन सकिने     |     सेनाद्वारा आरुघाटस्थित बूढीगण्डकीमा ‘बेलिब्रिज’ जडान     |     विश्वकप लिग-२ : ओमानविरुद्ध नेपालको १० रनको जित     |    
कला र मनोरन्जन

चलचित्र पत्रकार सङ्घ नेपालको २६ औँ वार्षिकोत्सव श्रीअन्तुमा सम्पन्न, सात पत्रकार सम्मानित

१० जेष्ठ २०८२, शुक्रबार १४:१४

इलाम। चलचित्र पत्रकार सङ्घ नेपालले आफ्नो २६ औँ स्थापना दिवसको अवसरमा इलामको प्रमुख पर्यटकीय स्थल श्रीअन्तुमा विशेष कार्यक्रमसहित राष्ट्रिय भेला सम्पन्न गरेको छ। जेठ ७ र ८ गते आयोजना गरिएको दुई दिने कार्यक्रममा चलचित्र पत्रकारितामा योगदान पुर्‍याउने सात जना पत्रकारलाई विभिन्न सम्मान तथा पुरस्कार प्रदान गरिएको छ।

कार्यक्रम अन्तर्गत पहिलो दिन ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ र ‘पुरस्कार तथा सम्मान प्रदान समारोह’ आयोजना गरियो भने दोस्रो दिन ‘सिनेमा र पर्यटन’ विषयमा संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरियो।

समारोहमा ध्रुव लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ (रु. ५५,५५५ नगदसहित), विष्णु सुवेदी, नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवन कुमार पराजुली र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई रु. ५१,००० नगदसहित) प्रदान गरियो। त्यस्तै, रश्मि थापा राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ र तुलसी प्रसाद निरौलालाई कोसी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ (प्रत्येकलाई रु. २५,००० नगदसहित) प्रदान गरियो।

समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ अभिनेत्रीहरू वसुन्धरा भुसाल र गौरी मल्ल, वरिष्ठ अभिनेता शिव श्रेष्ठ, कलाकार सङ्घ अध्यक्ष मोहन निरौला, निर्देशक समाज अध्यक्ष जनक दीप पराजुली, निर्माता मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, नवीन श्रेष्ठ लगायत थुप्रै विशिष्ट अतिथिहरू तथा देशभरका चलचित्र पत्रकारहरूको उल्लेखनीय उपस्थिति थियो।

कार्यक्रममा सहभागी पत्रकारहरूले श्रीअन्तुको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै उक्त क्षेत्रलाई चलचित्र छायाङ्कनको लागि उपयुक्त खुला स्टुडियोका रूपमा प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेलाको व्यवस्थापन चलचित्र पत्रकार सङ्घ नेपाल कोसी प्रदेश शाखाको संयोजनमा इलाम, झापा, मोरङ र सुनसरी शाखाले गरेका थिए। सङ्घका महासचिव रघुनाथ सापकोटाका अनुसार कार्यक्रम अन्तर्गत सिनेमा पर्यटन महोत्सव, कार्यशाला र अन्तरक्रिया समेत गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्