Trending
बाढी प्रभावित सबै क्षेत्रमा नेपाल टेलिकमको सेवा पुनःसञ्चालनमा     |     शिक्षक महासंघसँग शिक्षामन्त्री पोखरेलले भने- सबै विषयमा खुला छलफल गरौँ     |     बाढी अपडेटः १ हजार २०४ को मृत्यु पुष्टि, अझै ४ हजार २१६ बेपत्ता     |     भोटेकोशी बाढीमा बगेका नौ शव भारतबाट नेपाल ल्याइयो     |     बिना लिम्बु र सरला सौर्य श्रेष्ठले जिते ‘मिस एन्ड मिसेस युनिभर्सल’को मुख्य उपाधि     |     बाढी प्रभावित क्षेत्रका अधिकांश स्थानमा विद्युत् र सञ्चार सेवा पुनःस्थापना     |     रसुवा बाढी : ९३९ जनाको मृत्यु, झन्डै चार हजार सम्पर्कविहीन     |     हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री     |     एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै     |     कामपामा विपद् व्यवस्थापन हेल्प डेस्क सञ्चालन     |    
कला र मनोरन्जन

‘महाभोज’ प्रचारका लागि ‘सत्य कहिल्यै लुक्दैन’ शीर्षकमा सडक नाटक

१२ जेष्ठ २०८२, आईतवार ०५:०१

काठमाडौं। यही जेठ १५ गते बिहीबार रिलिज हुने नेपाली चलचित्र ‘महाभोज’ले नयाँ प्रचार शैली अपनाउँदै प्रचारमा विविधता ल्याएको छ । रिलिजको केही दिन मात्र बाँकी रहँदा चलचित्र यति बेला सडक नाटकमार्फत दर्शकमाझ आइपुगेको छ ।

शनिवार साँझ काठमाडौंको गोङ्गबुमा ‘सत्य कहिल्यै लुक्दैन – महाभोज’ शीर्षकको सडक नाटक प्रस्तुत गरी सयौँ दर्शकलाई चलचित्रको कथावस्तुबारे जानकारी गराइएको छ । चलचित्रका निर्माता अनुसार यो अभियान चलचित्र रिलिजसम्म काठमाडौंका विभिन्न स्थानहरूमा दैनिक रूपमा सञ्चालन हुनेछ ।

सडक नाटकमा कलाकारहरूले प्रत्यक्ष अभिनयमार्फत सहकारी पीडित र पीडकबिचको कथालाई प्रस्तुत गरेका छन् । चलचित्रको मूल कथावस्तुसँग मेल खाने गरी तयार गरिएको यो नाटकको निर्देशन आकाश नेपालीले गरेका हुन् भने लेखक सरिता कठायत हुन् ।कलाकारहरूमा सुजन खतिवडा, सन्तोष गिरी, चिराग पनेरु, सरिता कठायत र विनोद प्रकाश धामी छन् । नाटक व्यवस्थापन ट्राईडेन्ट कन्सेप्ट र द क्रियटर्स नेपालले गरेको थियो भने नाटक प्रस्तुति शुभआकाश टिमले गरेको हो ।

दिनेश राउत निर्देशित ‘महाभोज’ सहकारी संस्थामा बचत गरेको रकम डुबेपछि उत्पन्न हुने पीडादायी अवस्थालाई चित्रण गर्ने चलचित्र हो । यसमा पीडितको वेदना, जागिरेहरूको मानसिक सङ्घर्ष र राजनीतिक चलखेललाई समेटिएको छ ।

दयाहाङ राई, आर्यन सिग्देल, खगेन्द्र लामिछाने, अञ्जना बराइली, मलिका महत, गौमाया गुरुङ, वसुन्धरा भुसाल र मोहन निरौलाको प्रमुख भूमिका रहेको यो चलचित्र क्लक वर्क क्रियशन र पिक्चर फ्रेमको संयुक्त प्रस्तुति हो । निर्माता हिमाल कडरिया र लेखक विकास सुवेदी रहेको ‘महाभोज’ नेपालसँगै विदेशका केही मुलुकहरूमा एकसाथ रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्