काठमाडौं। चलचित्र ‘लाज शरणम्’ निर्माण टिमले प्रदर्शनको १०१औँ दिन मनाएको अवसरमा विद्यार्थीलाई सहयोग गरेको छ ।
‘लाज शरणम्’ टिमले सिन्धुपाल्चोकको चौतारा सांगाचोकगढी नगरपालिका ५ मा रहेको श्री बालकल्याण आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई ३० थान स्कुल ड्रेस, ब्याग र पानी पिउने बोतल सहयोग गरेको हो ।
मदर किड्स फाउन्डेसन नेपालको आयोजनामा ‘लाज शरणम्’का निर्माता नवीन श्रेष्ठले उक्त सहयोग हस्तान्तरण गरेका हुन् ।
“सफलतापूर्वक प्रदर्शन भइरहेको चलचित्र लाज शरणम्को गौरवमय १०१ औं दिनको उपलक्ष्यमा हामीले विद्यार्थीहरुलाई सहयोग रहेका छौँ । यो अवसरका निम्ति आयोजक मदर किड्स फाउन्डेसन नेपाल र एसीके केटिएम सिन्धु चौतार सिटीलाई धन्यवाद दिन्छु,” निर्माता श्रेष्ठले भने, “हामी आगामी दिनमा पनि यस्तो सहयोग गर्दै जानेछौँ । सामाजिक काममा सहकार्य गर्दै जानेछौँ ।”
कुमार कट्टेलको निर्देशन रहेको चलचित्र ‘लाज शरणम्’ले प्रदर्शनको १००औँ दिन मनाइसकेको छ । काठमाडौंका दुईवटा सिनेमाहलमा प्रदर्शनको १०१ दिन मनाएको हो ।
शिवरात्रिको अवसर पारेर गत वर्षको फागुन १४ गते सार्वजनिक प्रदर्शनमा आएको चलचित्रले काठमाडौंको न्युरोडमा रहेको रञ्जना सिनेप्लेक्स र गोंगबुस्थित विएसआर मुभिजमा प्रदर्शनको १०१ दिन मनाएको हो ।
चलचित्र ‘लाज शरणम्’ गत वर्ष कात्तिक १५ गते रिलिज भएको ‘पूर्ण बहादुरको सारङ्गी’पछि १०१ दिन मनाउने पहिलो चलचित्र हो ।
‘लाज शरणम्’मा सीताराम कट्टेल, विजय बराल, अर्पण थापा, महेश त्रिपाठी, मुकुन्द श्रेष्ठ, विजय लामा, रेणुनाथ योगी, सागर लम्साल, हरि निरौला, अर्जुन घिमिरे, कमलमणि नेपाल, प्रियाना आचार्य, दयाहाङ राई र बुद्धि तामाङलगायत लगायतको अभिनय छ । यो चलचित्रमा निर्देशक समेत रहेका कुमार कट्टेल ‘जिग्री ब्रो’ पनि विशेष भूमिकामा छ ।
जेपीटी क्रिएसनको ब्यानरमा निर्माण भएको चलचित्रका निर्माता नवीन श्रेष्ठ हुन् । राम नरेश शाह र सिर्जना खड्का सह–निर्माता रहेका छन् ।
आफूले बनाएको चलचित्रले १०१ दिन मनाएपछि निर्माता श्रेष्ठले पहिलो चलचित्रमा दर्शकले दिएको माया र हौसलाले थप उत्साही बनाएको बताएका छन् ।
निर्माता श्रेष्ठले आगामी चलचित्र ‘पाँच पाण्डव’ चलचित्र निर्माण गर्ने तयारी समेत गरेका छन् । उक्त चलचित्रको पटकथा सुशील पौडेलले तयार गरिरहेका छन् । वसन्त निरौलाले निर्देशन गर्ने तय भएको छ । उक्त चलचित्र आगामी भदौ आसपासमा छायांकन गर्ने तयारी गरिएको उनले बताए ।
यस्तै निर्माता श्रेष्ठले ‘लाज शरणम् २’ पनि निर्माणको तयारी भइरहेको जानकारी दिएका छन् ।