Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
कला र मनोरन्जन

चलचित्र ‘रातो पासपोर्ट’ निर्माण घोषणा, युरोपमा नेपालीको सङ्घर्षको कथा

२७ जेष्ठ २०८२, सोमबार ०८:०२

काठमाडौं- नेपाली चलचित्र ‘रातो पासपोर्ट’ निर्माण हुने भएको छ । युरोपका देशहरूमा त्यहाँको नागरिकता (रातो पासपोर्ट) प्राप्त गर्ने उद्देश्यका साथ पुगेका नेपालीहरूले गर्ने सङ्घर्षको कथालाई चलचित्रले पर्दामा उतार्ने जनाइएको छ ।

सिबर्ड्स पिक्चर्स र होप्स बजको प्रस्तुति तथा ट्राइडेन्ट कन्सेप्टको सहकार्यमा बन्न लागेको यस चलचित्रको निर्देशन सिमसोन तामाङले गर्दैछन् । चलचित्रको कथा माइकल तामाङले लेखेका हुन् भने पटकथा तथा संवाद प्रदीप कुमार चौधरीले तयार पारेका छन् ।

निर्माण पक्षले केही दिनअघि सामाजिक सञ्जालमा “सबै भन्छन् – त्यता गएपछि सेटल भइन्छ रे । परिवारको भविष्य सुरक्षित हुन्छ रे । रातो पासपोर्ट पाइन्छ रे… !” भन्दै पोस्ट गरेका थिए । तर, औपचारिक निर्माण घोषणा भने मिनिमल पोस्टर सार्वजनिक गर्दै आइतबार मात्र भएको हो । पोस्टरको थिम युरोपको देश पोर्चुगलको पासपोर्टको कभर पेजको स्टाइलमा तयार पारिएको छ ।

‘रातो पासपोर्ट’मा लोक बहादुर तामाङ निर्माताको रूपमा छन् र प्रवेश पौडेल कार्यकारी निर्माताको भूमिकामा रहनेछन् । पौडेलले यसअघि ‘अमेरिका ब्वाइज’ र ‘बिहे पास’ चलचित्रको निर्देशन गरेका थिए ।

चलचित्रको प्राविधिक टिममा मेकअप तथा एसएफएक्सका लागि अमृत मरहट्ठा, छायाकारका रूपमा रवीन्द्र न्यौपाने र सङ्गीतकारका रूपमा जयन जे. वाइबा जोडिएका छन् । पोस्टर तथा पब्लिसिटी डिजाइन रोयल भीमसेन (ट्राइडेन्ट कन्सेप्ट टिम) ले गर्नेछन् ।

निर्देशक सिमसोन तामाङ नेपाली चलचित्र उद्योगमा एक्सन निर्देशक तथा प्रमुख सहायक एक्सन निर्देशकका रूपमा लामो समयदेखि सक्रिय छन् । उनले सन् २०१३ मा ‘बाउन्सर’, ‘बडी गार्ड’, ‘लभ सब’, ‘मधुमास’, ‘ब्ल्याक फ्ल्याग’, ‘किल्ला’, ‘ऐश्वर्य’, ‘राधे’, ‘रुद्र’, ‘पिँजडा ब्याक अगेन’ लगायतका नेपाली एक्सन चलचित्रहरूमा प्रमुख सहायक एक्सन निर्देशकको रूपमा काम गरेका छन् । यस्तै, उनले ‘धन्य माया जाल’, ‘असुर द मिस्ट्री’ (हिन्दी) र ‘लप्पन छप्पन २’ जस्ता चलचित्रमा एक्सन निर्देशकको रूपमा काम गरिसकेका छन् ।

चलचित्रका कलाकार तथा क्रू सदस्यहरू नेपालबाट चाँडै नै छनौट गरिने निर्माण पक्षले जनाएको छ । यसका साथै, युरोप र युकेमा रहेका कलाकारहरूलाई अडिसनमार्फत छनोट गरिने योजना रहेको कार्यकारी निर्माता प्रवेश पौडेलले बताए । चलचित्रको छायाङ्कन पोर्चुगल, युरोपका अन्य केही देश र नेपालमा हुनेछ ।

प्रतिक्रिया दिनुहोस्