Trending
रक्की माउन्टेनले कोलोराडोमा मनायो नेपाली नयाँ वर्ष     |     चलचित्रमा छुटेको ‘काली–कर्णाली’     |     बाल साहित्य महोत्सव (दोस्रो संस्करण)मा बाल विकासको सफलता     |     प्रकाश खड्काको पहलमा कर्णाली हाइ अल्टिच्यूड ट्रेनिङ सेन्टरका लागि जुम्लामा जग्गा सुनिश्चित     |     अष्ट्रेलियाबाट बिन्दु पौडेलको ‘जिन्दगी के छ र’ सार्वजनिक     |     सनम कठायतको निर्देशनमा ‘परदेश’ सार्वजनिक, वैदेशिक जीवनको यथार्थ उजागर     |     उपभोक्ता अधिकार दिवसमा आर्थिक पत्रकार प्रेम प्रसाद पाैडेल सम्मानित     |     बाल विकास बोर्डिङ हाइ स्कुलले भव्यताका सम्पन्न गर्‍यो वार्षिक खेलकुद महोत्सव     |     दाङको तुल्सीपुर क्षेत्रमा नेपाली सेनाको सशक्त सुरक्षा गस्ती     |     काठमाडौंबाट मधेसीलाई लखेटने बालेनहरु मधेसी हुनैसक्दैनन् : प्रभु साह     |    
कला र मनोरन्जन

‘कान्तारा २’ को सुटिङमा डुङ्गा पल्टियो, ३० जनाको सकुशल उद्धार

१ असार २०८२, आईतवार ११:४८

एजेन्सी। ऋषभ शेट्टी निर्देशित बहुप्रतीक्षित कन्नड फिल्म ‘कान्तारा २’ को छायांकनका क्रममा फेरि अर्को दुर्घटना भएको छ। भारतको कर्नाटकस्थित शिवमोगा जिल्लाको मस्ती कट्टे क्षेत्रको मणि जलाशयमा छायांकनकै बेला डुङ्गा पल्टिएको हो।

डुङ्गा पल्टिएपछि फिल्मका निर्देशक तथा अभिनेता ऋषभ शेट्टीसहित करिब ३० जना कलाकार र प्राविधिकहरू सकुशल उद्धार गरिएको स्थानीय प्रहरीले जनाएको छ। दुर्घटना जलाशयको उथलो क्षेत्रमा भएकोले गम्भीर क्षति हुन नपाएको जनाइएको छ।

प्रहरीका अनुसार डुङ्गा पल्टिँदा फिल्मको क्यामेरा र अन्य प्राविधिक उपकरणहरू भने पानीमा डुबेका छन्। उपकरणको क्षतिको विवरण र मूल्याङ्कन हुन बाँकी छ। घटनास्थलमा पुगेका तीर्थहल्ली प्रहरीका अनुसार डुङ्गामा रहेका सबै व्यक्तिहरू सकुशल रहेका छन् र घटनाबारे थप अनुसन्धान भइरहेको छ।

यस घटनाले ‘कान्तारा २’ को निर्माणमा आउने कठिनाइलाई झनै जटिल बनाएको छ। खासगरी केही दिनअघि मात्र यो फिल्मसँग जोडिएको अर्को दुःखद घटना सार्वजनिक भएको थियो, जब ४३ वर्षीय मिमिक्री कलाकार कलाभवन नाजुको छायांकनकै क्रममा हृदयघातका कारण निधन भएको थियो। उनलाई छाती दुखेपछि अस्पताल पुर्याइएको थियो तर चिकित्सकहरूले मृत घोषणा गरेका थिए।

रंगमञ्च कलाकार रामदास पुजारीले भारतीय समाचार संस्था पीटीआईसँग कुरा गर्दै भने, “दक्षिण कन्नड क्षेत्रका आत्माहरूको विषयमा फिल्म बनाउनु सधैं जोखिमपूर्ण हुन्छ, किनकि उनीहरूलाई यस्ता विषयको व्यावसायीकरण मन पर्दैन।”

यद्यपि पुजारीले ऋषभ शेट्टीले आत्माहरूको सम्मानमा विधिवत् पूजा गरेर फिल्म निर्माणको अनुमति लिएको जानकारी पनि दिएका छन्।

गत महिनामा पनि निर्माण टोलीले केही कलाकार गुमाएको जानकारी सार्वजनिक भएको थियो। यस्तोमा बारम्बार भएका घटनाले फिल्म निर्माण टोलीलाई मानसिक र व्यवस्थापकीय चुनौती थपेको छ।

‘कान्तारा २’ कन्नड फिल्म उद्योगको बहुप्रतीक्षित परियोजनामध्ये एक हो, जसको पहिलो संस्करणले दर्शक र समीक्षक दुवैबाट अत्यधिक प्रशंसा पाएको थियो। दोस्रो संस्करणमा यस्तो शृंखलाबद्ध दुर्घटनाले निर्माण कार्य प्रभावित भए पनि टोलीले फिल्म पूरा गर्ने प्रतिबद्धता जनाएको छ।

प्रतिक्रिया दिनुहोस्