काठमाडौँ। गायक मनिष विश्वकर्माले आफ्नो नयाँ गीत ‘बन्दीपुर बजारैमा’ सार्वजनिक गरेका छन् । अमेरिकाको कोलोराडोमा रेकर्ड गरिएको गीत नेपालकै ऐतिहासिक, सुन्दर र मौलिक इतिहास बोकेको बन्दीपुरको पर्यटन प्रवर्द्धनमा केन्द्रित छ ।
तनहुँको बन्दीपुर काठमाडौँ उपत्यकाबाहिर नेवार समुदायको मौलिक र ऐतिहासिक विरासत बोकेको ठाउँ हो । जुन देशी तथा विदेशी पर्यटकका लागि ‘ड्रिम डेस्टिनेसन’ हो भने उपत्यकाबाहिरका नेवार समुदायको खुला संग्रहालयका रुपमा चिनिन्छ ।
बन्दीपुर बजारको दैनिकी र नेवार समुदायको पहिचानलाई केन्द्रमा राखेर निर्माण गरिएको भिडियो बन्दीपुरमै छायांकन गरेर अमेरिकामा सम्पादन गरेर सार्वजनिक गरिएको हो । युट्युबबाट सार्वजनिक गरिएको भिडियोका सुन्दर दृश्य बन्दीपुर बजारमै खिचिएका हुन् । अमेरिकामा गीत तयार पारेपछि भिडियोसहित सार्वजनिक गरिएको जनाइएको छ ।
गीतमा गायक मनिषकै स्वर, शब्द, संगीत छ । भिडियोको निर्देशन पनि उनी आफैले गरेका हुन् । अमेरिकामा बस्ने गायक मनिष कोलोराडोका प्राय सांगितिक कार्यक्रममा प्रस्तुती दिने गरेका छन् ।
बन्दीपुर बजारमा पहिलोपटक भेटेपछि सुरु भएको प्रेमकथामा आधारित भिडियोमा दिप्सन माझ्कोटी, कृपा गुरुङ, र सुस्मिता बयलकोटी ‘फिचरिङ’ छन् । कोलोराडोको मिस्टिक भाइब्स रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीत तथा भिडियोमा राजनभक्त श्रेष्ठको कम्पोज, मिक्सिङ र मास्टरिङ छ ।
गीतको अडियो तथा भिडियो तयार पार्न गायक मनिषका साथी तथा सहयोगीहरुको पनि साथ छ ।