Trending
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा देशवासीका नाममा सम्बोधन     |     प्रधानमन्त्री बालेन शाह शीतल निवासमा     |     विश्वकप क्रिकेट लिग–२ः नेदरल्यान्ड्सद्वारा नेपाललाई २२६ रनको लक्ष्य     |     सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन     |     रास्वपा वरिष्ठ नेतामा बालेन शाह मनोनीत     |     मम्स इन्टरनेसनल नेपालद्वारा कराते च्याम्पियन सुनिल लामा र उदीयमान खेलाडी याङतेन लामा सम्मानित     |     कर्णालीका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा पदभार ग्रहण     |     महिला कबड्डी टोलीले पनि एसियाडको तयारी भारतमै गर्ने     |     सिड्नीमा ‘मालती मंगले’को ओभरफ्लो शो, सांगीतिक माहोलमा गुन्जिए रामकृष्ण ढकाल     |     चलचित्र ‘पञ्चमी’ निर्माणको घोषणा     |    
कला र मनोरन्जन

चलचित्र ‘कुमारी’को प्रेमको न्यानोपन बोकेको नयाँ पोस्टर सार्वजनिक

२९ मंसिर २०८२, आईतवार २१:४२

काठमाडौं। माघ २३ गते रिलिज हुने प्रेम कथानक नेपाली चलचित्र ‘कुमारी’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ।

सार्वजनिक पोस्टरमा चलचित्रका मुख्य कलाकार अभिषेक खड्का र आकृति राजभण्डारी रोमान्टिक अवतारमा देखिएका छन्। पोस्टरले चलचित्रको प्रेमिल भाव, युवा जोडीबीचको नजिकपन र उत्साहपूर्ण मुडलाई प्रस्तुत गरेको छ।

सौम्य र क्लासिक लुकमा रहेको पोस्टरमा प्रेम, पवित्रता र सरलताको सङ्केतको रूपमा सेतो टोनको पृष्ठभूमि प्रयोग गरिएको छ। पृष्ठभूमिमा प्रेमको तरङ्ग बुझाउने ‘वेभ’हरू प्रयोग गरिएको छ। अभिषेक र आकृतिको हाँसो र एक अर्काप्रति देखिएको आत्मीयताले कथावस्तु शुद्ध प्रेमकथामा केन्द्रित रहेको आभास दिन्छ। यस पोस्टरको डिजाइन रोयल भीमसेनले गरेका हुन्।

पोस्टर सार्वजनिकसँगै चलचित्रको नयाँ गीत ‘तिमी बिना …’ को रिलिज मिति पनि घोषणा गरिएको छ। निर्माण पक्षका अनुसार उक्त गीत पुस ३ गते डिजिटल प्लेटफर्ममार्फत सार्वजनिक गरिनेछ। यसअघि सार्वजनिक भएको पहिलो गीत ‘कता छौ मेरो फूल …’को सफलतापछि नयाँ गीतप्रति दर्शकको चासो थप बढ्ने अपेक्षा गरिएको छ। गायक केहर सिंह लिम्बु तथा उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’को स्वरमा रहेको यो गीत युट्युब र टिकटकमा विशेष गरी ‘जेन–जी’ पुस्तामाझ लोकप्रिय बन्दै गएको छ।

दिनेश राउत निर्देशित यो चलचित्र भ्यालेन्टाइन डेको आसपास रिलिज हुने भएकाले चलचित्रले विशेष गरी युवा दर्शकलाई लक्षित गरेको देखिन्छ। चलचित्रमा नयाँ अनुहारहरू अभिषेक खड्का र आकृति राजभण्डारी मुख्य भूमिकामा छन्। साथै घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने, मनषा शर्मालगायत कलाकारको पनि अभिनय रहेको छ।

‘आइ एम सरी’, ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता प्रेमकथात्मक चलचित्रबाट चिनिएका निर्देशक दिनेश राउत पछिल्ला वर्षमा ‘प्रसाद’, प्रकाश’, ‘पुजार सार्की’ जस्ता सामाजिक विषयमा केन्द्रित रहे पनि ‘कुमारी’मार्फत पुनः प्रेमकथामा फर्किएका हुन्।

बिनिश इन्टरटेन्मेन्ट र पिक्चर फ्रेमको सहकार्यमा बनेको यस चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन्। कार्यकारी निर्माता केदार भुसाल हुन्। कथा तथा स्क्रिप्ट विकास सुवेदीले लेखेका छन् भने छायाङ्कन निर्देशन सुसन प्रजापतिले गरेका छन्।

सुप्रिम पराजुलीको सम्पादन तथा कलर ग्रेडिङ र उत्तम न्यौपानेको साउन्ड डिजाइन रहेको छ। डिजिटल वितरण केन्द्र मोशन पिक्चर्सले गरेको यस चलचित्रको काठमाडौं उपत्यकामा डीसीएन र उपत्यका बाहिर कुवेर सिने डिस्ट्रीब्युशनले थिएटर वितरण गर्दैछन्।

प्रतिक्रिया दिनुहोस्