Trending
भाटभटेनी संस्थाद्वारा बागमती प्रदेशका पाँच मन्त्री सम्मानित     |     काँकडभिट्टाबाट ९८ करोडको अलैँची निर्यात     |     एनपिएलः चितवन राइनोजविरुद्ध काठमाण्डु गोर्खाजको जित       |     २४सै घण्टा देउसी–भैलो खेल्न दिन गृह मन्त्रालयको निर्देशन     |     कोप–३१ मा सहभागी हुन अर्थमन्त्री डा वाग्ले टर्कीए प्रस्थान     |     काठमाण्डुले चितवनलाई दियो १८१ रनको लक्ष्य     |     लक्ष्मीपूजाको उज्यालोमा विद्युत् व्यवस्थापनको सफल परीक्षा     |     कल्पतरु प्रज्ञा प्रतिष्ठानद्वारा देवकोटा जयन्ती मनाइयो, विभिन्न स्रष्टा सम्मानित     |     यू–१९ महिला क्रिकेट प्रतियोगिताको उपाधि नेपाललाई     |     तारा अधिकारी निर्देशित चलचित्र ‘तिलस्मी’को फस्र्ट लुक सार्वजनिक     |    
कला र मनोरन्जन

भ्रष्टाचार र बेथितिविरुद्धको कथामा ‘झरीपछिको इन्द्रेणी’

२ पुष २०८२, बुधबार १८:२६

काठमाडौँ। हाँस्य कलाकार अर्जुन घिमिरे ‘पाँडे’ले निर्देशन गरेको चलचित्र ‘झरीपछिको इन्द्रेणी’ यही पुस ४ गते शुक्रबारदेखि देशभर प्रदर्शन हुनेभएको छ ।

सो चलचित्रको विषयमा जानकारी दिने उद्देश्यले आज यहाँ आयोजित कार्यक्रममा निर्देशक घिमिरेले भ्रष्टाचार र बेथितिविरुद्धको आवाज चलचित्रमा उठाउन प्रयास गरिएको बताए ।

उनले भने, “चलचित्रकर्मीको दायित्व मनोरञ्जन दिने मात्र नभई समाजलाई जागरुक बनाउने पनि हो । सोही मूल्यमान्यतालाई आत्मसात् गरी भ्रष्टाचार र सामाजिक विकृतिका विरुद्ध आवाज उठाउँदै देश र जनताका पक्षमा चलचित्र निर्माण गरेको छु । देशभक्त सच्चा नागरिकले सोच्ने कोणबाट चलचित्र तयार गरिएको छ ।”

गत जेन्जी आन्दोलनअघि नै चलचित्रको छायाङ्कन सकिएको उल्लेख गर्दै निर्देशक घिमिरेले भ्रष्टाचार, बेथिति र विसङ्गति विरुद्धको आवाजलाई चलचित्रमार्फत् उजागर गर्न यथासक्य प्रयास गरिएको बताए । उनले चलचित्रले सामाजिक सन्देश प्रवाह गरेता पनि त्यसको शैली चलचित्रकै रहेको स्पष्ट पारे ।

निर्देशक घिमिरेले चलचित्रको नामले नै कथाको सङ्केत गरेको बताउँदै ‘झरीपछिको इन्द्रेणी’लाई अध्यारोपछिको उज्यालोको रूपमा बुझ्न आग्रह गरे ।

उक्त चलचित्रमा अभिनेता गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, विमोचन दवाडी, जेसिका पोखरेल, प्रियना आचार्य (मुन्नी), अंशु महर्जन, राजेन्द्र नेपालीलगायतका कलाकारले अभिनय गरेका छन् ।

अभिनेता रमेश उप्रेतीले चलचित्रले अहिलेको समग्र देशको अवस्थालाई चित्रण गरेको बताए । “मैले धेरै समयपछि यो चलचित्रमा काम गरेँ, किनकी यसको विषयवस्तु ठूलो पर्दामार्फत दर्शकमाझ पुग्नुपर्छ भन्ने लाग्यो । आम नागरिकको कथामा बनेको चलचित्रलाई एउटा कलाकारले कलाको माध्यमले न्याय दिनुपर्छ भन्ने महसुस गरी काम गरेका छौँ”, उनले भने ।

यसै चलचित्रमार्फत नव कलाकारका रूपमा विमोचन दवाडी देखिँदै छन् । उमेरले जेनजी पुस्ताका कलाकार दवाडीले आफ्नो पुस्ताको भावना र आवाजलाई चलचित्रमा समेटिएको बताए ।

“म आफैँले पनि चलचित्रको कथा र पात्रसँग ‘कनेक्ट’ भएको महसूस गरेँ । पहिलो चलचित्र पाउनुको खुसीसँगै मेरो पुस्ताको कथा पाउँदा म आफूलाई भाग्यमानी महसुस गर्छु । अहिले मसँगका धेरै साथी विदेशमा गएर अध्ययन गर्ने र भविष्य बनाउने सोचमा हुनहुन्छ । अहिले नेपालमै बस्नु भनेको रहर नभई बाध्यताका रूपमा पनि बुझ्ने गरिएको छ, त्यो प्रवृतिलाई चलचित्रमा समेटिएको छ र समाधान पनि दिइएको छ ।”, उनले भने ।

नागराज इन्टरटेन्मेन्ट प्रालिले निर्माण गरेको उक्त चलचित्रमा निर्देशक घिमिरेले कथा लेखन, गणेश कार्की तथा विशाल घिमिरेले पटकथा लेखन र बुद्ध थापाले छायाङ्कन गरेका छन् । रासस

प्रतिक्रिया दिनुहोस्