काठमाडौँ। बलिउड अभिनेता सलमान खान अभिनित फिल्म ‘ब्याटल अफ गलवान’ को गीत शनिबार सार्वजनिक गरिएको छ। ‘मातृभूमि’ बोलको उक्त गीतमा नेपाली अभिनेता अनुपविक्रम शाही सलमान खानसँग एउटै फ्रेममा देखिएका छन्।
देशभक्तिको भावना समेटिएको गीतमा अनुपविक्रम र सलमानको सह–उपस्थिति देखिएसँगै नेपाली दर्शकमाझ पनि गीतले विशेष चासो पाएको छ।
केही समयअघि अनुपविक्रम सलमानसँगै फिल्म खेल्दैछन् भन्ने चर्चा चलेको थियो। यद्यपि उनी फिल्मको मुख्य भूमिकामा भने छैनन्। तर सार्वजनिक भएको गीतमा उनी सलमानसँगै देखिएका छन्।
गीतमा अरिजित सिंह, श्रेया घोषाल र मणि धर्मकोटको स्वर रहेको छ। सलमान खान फिल्म्सको प्रस्तुति रहेको यो फिल्मको निर्देशन अपूर्व लाखियाले गरेका हुन्।
‘ब्याटल अफ गलवान’ सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको झडपको घटनामा आधारित छ। फिल्ममा सलमान खान र चित्रांगदा सिंह मुख्य भूमिकामा छन् भने नेपाली अभिनेता अनुपविक्रम शाहीसँगै स्वर्गीय गायक तथा अभिनेता प्रशान्त तामाङको समेत अभिनय रहेको छ।
फिल्म आगामी १७ अप्रिल देखि प्रदर्शनमा आउने जनाइएको छ।