Trending
प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगन     |     औसत मिति टर्यो : अझै मनसुन भित्रिएन     |     न्यूजिल्यान्ड र इरानबीचको खेल बराबरीमा टुङ्गियो     |     फिफा विश्वकप–२०२६ : उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे     |     जापान र नेदरल्यान्ड्सबीच २–२ को रोमाञ्चक बराबरी     |     केही स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना     |     प्रधानमन्त्री बालेनको नजरमा ‘देश बनाउने टोली’ !     |     लुम्बिनी र सुदूरपश्चिमको तराई भूभागमा गर्मी बढ्ने     |     बैंक तथा डिजिटल भुक्तानी सेवाको नाममा पठाइने भ्रामक एसएमएसप्रति सचेत रहन नेपाल टेलिकमको अनुरोध     |     नेकपा जनसांस्कृतिक महासंघको संय‍ोजकमा भीम कुमाखी     |    
कला र मनोरन्जन

टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत् ‘ऊनको स्वीटर’का कलाकारहरूको परीक्षा र एलेक्स पात्रको नयाँ परिचय

८ बैशाख २०८२, सोमबार ०६:१७
काठमाडौं यही वैशाख २६ गतेदेखि विश्वव्यापी प्रदर्शनमा आउन लागेको बहु प्रतीक्षित नेपाली चलचित्र ‘ऊनको स्वीटर’को ‘काफ्ले’ बोलको गीतले प्रदर्शन अगावै दर्शकमाझ सनसनी मच्चाएको छ ।
छोटा भिडियो प्लेटफर्महरू टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समा यो गीत यति भाइरल बनेको छ कि हरेक स्वाइपमा यसकै धुन गुञ्जिरहेको महसुस हुन्छ ।
झुमा लिम्बु र सुजन चापागाईंको सशक्त स्वर, झुमाकै सङ्गीत र युवराज काफ्लेको शब्दले सजिएको यस गीतले लाखौं दर्शकको मन जितेको छ । गीत सार्वजनिक भएको केही समयमै यसको अफिसियल म्युजिक भिडियोलाई युट्युबमा १२ लाखभन्दा धेरैपटक हेरिएको छ । त्यस्तै, टिकटकमा मात्रै ५० हजारभन्दा बढी प्रयोगकर्ताले यसमा भिडियो निर्माण गरिसकेका छन् ।
गीत सार्वजनिक कार्यक्रममा गायिका लिम्बु र गायक चापागाईंले प्रत्यक्ष प्रस्तुत गरेका यो गीतले बिशेष चर्चा बटुल्न सफल भएको थियो । यो गीत नेपाली चलचित्र उद्योगमा ट्रेन्डमा रहेकाहरु गीत मध्ये एक बनिसकेको छ ।
यसैबीच, ‘ऊनको स्वीटर’को निर्माण कम्पनी आर्टमाण्डूले पछिल्लो समय डिजिटल ट्रेन्डलाई आत्मसात गर्दै कलाकारहरूको पात्र परिचय छोटा भिडियो प्लेटफर्ममार्फत गराएको छ । ट्रेन्डकै रुपमा पहिलो पटक चलचित्रका कलाकारहरूको पात्र परिचय टिकटक, फेसबुक–इन्स्टा रिल्स र युट्युब शर्ट्समार्फत सार्वजनिक गरिएको हो ।
चलचित्रमा प्रमुख पात्र परीक्षा लिम्बु र एलेक्स पारसलाई पहिलोपटक ‘काफ्ले’ गीतमा नाचिरहेको देखाइएको छ । चलचित्रमा परीक्षा र एलेक्सले पान्थर नवमीडाँडाका डम्बर काफ्ले र ईक्सा लिम्बुको भूमिका निर्वाह गरेका छन् । यद्यपि, गीतको अफिसियल भिडियोमा भने चर्चित अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर देखिएका छन् ।
आर्टमाण्डूले कलाकारहरूको झलक सार्वजनिक गर्दै भनेको छ, “हामीले यो झलकमार्फत ‘ऊनको स्वीटर’का पात्रहरूप्रति तपाईँहरूको जिज्ञासा र प्रेम झनै बढ्ने विश्वास लिएका छौँ । यो न्यानो सिर्जनाशीलताको यात्रामा तपाईँहरूको साथको अपेक्षा गरेका छौँ ।”
कलाकारहरूको पात्र परिचय गराउन नयाँ शैली अपनाइएको विषयमा ‘ऊनको स्वीटर’का निर्देशक नवीन चौहानले पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता रहेको बताए । उनले भने, “पात्र परिचयको रूपमा नयाँ प्रयोग गरी सार्वजनिक गरिएका भिडियोहरूमा छोटो समयमा नै दसौँ लाख दर्शकले हेरिसक्नु भएको छ र यसलाई अत्यधिक मन पराउनुभएको छ ।
हाम्रो नयाँ प्रयासलाई सहजै स्विकार गरिएको छ । हामीले पोस्टरमार्फत् पात्र परिचय गराएको भए सायद यति धेरै दर्शकमाझ यति छिटो पुग्ने थिएन होला । पछिल्लो प्रविधि अँगाल्नु अहिलेको अपरिहार्यता हो।”
‘ऊनको स्वीटर’ प्रदर्शनको पूर्वसन्ध्यामा ‘काफ्ले’ गीतले यस चलचित्रप्रति दर्शकको उत्साहलाई अझै बढाएको छ ।

प्रतिक्रिया दिनुहोस्